काठमाडौं । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामि बिहीबार बस्ने भएको छ । काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यसअघि साउन ७ गतेका लागि निर्धारित बैठक दुई दिनपछि राखिएको हो । विपी स्मृति दिवसका कार्यक्रममा सहभागी हुन केन्द्रीय नेताहरु काठमाडौँ बाहिर हुने भएकाले बैठक सारिएको हो ।
साउन ९ गते अपराह्न २ बजे बस्ने बैठकमा पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल हुने बताइएको छ । त्यस्तै विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने तथा केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने विषय छलफलका लागि तय भएको उनले बताए ।
काङ्ग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धमा समेत छलफल गर्ने तयारी गरिएको छ ।










