काठमाडौं –
नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रदर्शन गरेको छ । एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ल कार्ड बोकेका प्रदर्शनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा विरुद्ध नाराबाजी गरेका थिए ।
कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

संघका पूर्व केन्द्रीय सदस्य रघु कार्कीको संयोजनमा भएको प्रदर्शनमा संघका पूर्व उपाध्यक्ष निलकण्ठ रिजाल, सागर परियार, नेताहरू जयराम लामिछाने, लक्ष्मण पन्थी, पुनम भट्ट, एलिजा ढकाल, सुप्रिया जोशी, पुनम लामा, केबिना कट्टेल, राजु सुनार, दिनेश भुर्तेलसहित नेता कार्यकर्ता सहभागी थिए ।

उनीहरूले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका थिए ।कञ्चनपुरकी निर्मला पन्तको बलत्कारपछी हत्या भएको आज बर्ष दिन पुगेको छ ।हत्यारालाई कारबाही दायरामा ल्याउन नसकेकोमा सरकारको ब्यापक आलोचना हुँदै आएको छ ।










