आगामी मंसिरभित्र क्रियाशील सदस्यता अद्यावधिक गरे पछी १४ औं महाधिवेशनको प्रकृया अघी बढाउने कांग्रेसको निर्णय



श्रावण १७,  काठ्माण्डौ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर पछी मात्रै पार्टिको महाधिबेशनको कार्यातालिका सार्बजनिक गर्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले यस्तो  निर्णय गरेको हो । तेस्तै पार्टिका अन्तरिम संरचनाहरु पनि सहमतिकै आधारमा बन्ने सहमती भएको पनि एक नेताले न्यू सञ्चारलाई बताए । अन्तरिम संरचना बनाउने प्रष्ट मार्गचित्रसहितको निर्देशिकाका आधारमा अन्तरिम संरचनाहरु बनाइने भएको हो ।

तेस्तै बैठकले १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गर्ने र त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बैठक पछी जारी गरिएको प्रेस बिज्ञप्ती-

श्रावण १७, २०७६
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन.पी. साउद, शंकर भण्डारी र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

अन्तरिम संरचनाका सम्बन्धमा
१३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ । यसकालागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी पारित गरिनेछ । अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ । त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ ।

नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन प्रस्तुत
नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन समितिका संयोजक, पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नु भयो ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजना बारे प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत
महामन्त्री पूर्णबहादुर खड्काले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को बैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण २२ गते वुधवार दिनको २ः०० बजे पुनः बस्नेछ ।

समवेदना
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । बैठकले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

यसैगरी, बाजुरा गौमुल गाउँपालिका वडा नं। ६, बसाला, शान्तिटोलमा विहिवार राती घरमाथि पहिरो गई वर्ष ३० की निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोमा यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, बाजुराका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार  ३ : १७ बजे