प्रधानमन्त्री ओलीका कट्टर आलोचक बमदेब गौतम एकाएक ओलिको शरणमा



काठ्माण्डौ-

प्रधानमन्त्री  केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किदा प्रधानमन्त्री ओलीका कट्टर आलोचक बमदेब गौतम एकाएक  प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थल पुगे।

केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

केही समयदेखि बिग्रिएको भनिएको ओली–गौतम सम्बन्ध सुमधुर बन्न थालेको अड्कल गर्न थालिएको छ।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा गौतमले फरक मत राखेपछि ओली–गौतम सम्बन्धमा खटपट आएको थियो। त्यसयताका सचिवालय बैठकमा पनि गौतमले ओलीलाई साथ दिएका थिएनन्। पार्टी एकीकरण अन्तिम चरणसम्म पुग्दा पनि ओलीलाई साथ नदिएका गौतम पछिल्लो समय ओलीको प्रमुख सल्लाहकारकै रूपमा देखापरेका छन्। बालुवाटार स्रोतका अनुसार असारको अन्तिम साताबाट ओली–गौतम सम्बन्धमा सुधार आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। त्यसयता पार्टी एकताको प्रक्रियासमेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद गरिरहेका थिए।

प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार  ४ : २६ बजे