नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराबाट शुरु



पोखरा-

नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम अन्तर्गत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज गण्डकी प्रदेशको पोखरामा महाधिबेशन प्रतिनिधिकालागी प्रशिक्षण शुरु भएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको सुरुवात गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए ।

सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको छ भने । स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व कांग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उनले प्रजातन्त्रसहितको समाजवादमा कांग्रेस स्पष्ट रहेको बताए ।

सो अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकामा यतिखेर जनता निराश भएको आरोप लगाए । नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उनले जनताको त्यो चाहनालाई कांग्रेसले पूरा गर्नुपर्ने बताए । पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उनले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरे ।

पार्टी केन्द्रीय सदस्य कमला पन्त, प्रष्ठिानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले पार्टी सङ्गठनलाई थप सशक्त बनाउन प्रशिक्षण बहुउपयोगी बन्ने धारणा राखे । कार्यक्रममा सभापति देउवाले नेत्रविक्रम चन्द समूह परित्याग गरी कांग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई पार्टी सदस्यता प्रदान गरे । सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको पनि लोकार्पण गरिएको थियो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।

यस्तै आउँदो सोमबार र मंगलबार प्रदेश ५ को रुपन्देहीमा प्रशिक्षण कार्यक्रम राखिएको भने भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा हुने छ।सातै प्रदेशमा गर्ने भनिएको महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा भने केही समयपछि मात्र संचालन गरिने बताइएको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  २ : ५५ बजे