नेकपाको घर झगडाले कांग्रेस सांसद दुखी



काठमाडौं

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टीभित्र दुई शिर्ष नेताहरुबीच भएको संवाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए ।

यस किसिमको व्यवहार र संवादको शैलीले राजनीतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता व्यक्त गरे । देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले समृद्धितर्फ बढ्न बाधा पुग्ने बताए ।

यस्तै आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बास्कोटाले भने पारस शाहले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको दुर्व्यवहारमा किन कारबाही नगरेको भन्दै सरकारसँग रोष प्रकट गरे । यस्तै सांसद बास्कोटाले देशमा अवान्छित गतिविधिहरु बढ्ने, विभिन्न बहानामा कानुन हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिविधि बढ्दा सरकार के गरेर बसेको छ’ भनेर प्रश्न गरे ।

रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक संजालमा अवान्छित गतिविधि हुँदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश पनि व्यक्त गरे । विशेष समयमा बोल्ने अन्य वक्ताहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार  ११ : ३१ बजे