काठमाडौं–
कांग्रेस सांसद एबम पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले सरकारले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने सरकारी व्यवस्थाले राष्ट्रिय गानकै अपमान हुने बताएका छन ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद प्रधानले राष्ट्रिय गान गाउने आफ्नै परम्परा रहेकाले त्यसलाई सम्मान गर्नुपर्ने भनाइ राखे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिने आरतीमा राष्ट्रिय गान बजाउने व्यवस्था गरे प्रती टिप्पणी गर्दै सांसद प्रधानले भने, ‘किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने भन्ने प्रश्न उठेको छ । यसलाई सरकारले ध्यान दिनु जरुरी छ ।’
सांसद प्रधानले उक्त निर्णयमा पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराउदै पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरू पनि हुने भएकाले दुःखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरूले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने धारणा राखे।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सहभागी हुने कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र राजनीतिक दल तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्नेमा प्रधानले जोड दिए ।
प्रधानले पशुपतिनाथ मन्दिर परिसरमा नै राष्ट्रिय गान बजाउने निर्णय धर्म र संस्कृति विरोधी भएको जिकिर गरे ।








