काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छन् ।
संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् ।
संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई ज्ञापन गरेका छन् ।








