सङ्खुवासभामा पहिरोले सडक निर्माण ठप्प



सङ्खुवासभा –

सङ्खुवासभाको उत्तरी क्षेत्रमा लगातार पहिरो खसेपछि कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिकाको दोभान–वरुण नदी खण्डको सडक निर्माण ठप्प छ ।

वैशाखको पहिलो सातायता उक्त क्षेत्रमा नियमित रुपमा पहिरो खसेपछि सडक निर्माणको काम रोकिएको हो ।सडक निर्माणका लागि सवारीसाधन लैजान नसक्दा काम अघि बढ्न सकेको छैन ।

नयाँवस्ती वरुण नदी खण्डमा पर्ने झण्डै २७ किलोमिटर क्षेत्रमा पहिरो नियमित झरिरहेको स्थानीयवासी बताउँछन् ।

निर्माणका लागि लगिएका ठूला सवारीसाधन पहिरो खसेपछि दोभानमै थन्किएका छन् । सडक निर्माणको ठेक्का स्वामीनारायण आशिर्वाद जेभीले लिएको थियो ।

“डोजर र अन्य सवारीसाधन लैजान नसक्दा काम रोकिएको छ”, निर्माण कम्पनीका सन्तोष बस्नेतले भने, “झरी रोकिएपछि काम अघि बढ्छ ।

नयाँवस्तीबाट वरुणसम्म सडक चौडा, पर्खाललगायत काम गरिने बस्नेतले बताए ।

उत्तरी क्षेत्रका विभिन्न ठाउँसम्म साँझ पाँच बजेदेखि बिहान आठ बजेसम्म एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा छन् ।

उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार दोभानबाट नयाँवस्तीसम्म झण्डै दुई किलोमिटर क्षेत्रमा सडक भत्किएको छ ।रासस-

प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार  १ : ०२ बजे