सरकारले काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गर्‍यो : शभापती देउबा



भक्तपुर–

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् ।

मध्यपुरथिमिको बोडेमा आज काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काङ्ग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट शुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले भने, ‘कम्युनिष्ट र काङ्ग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, काँग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।’जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।

काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उनले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए । पौडेलले काङ्ग्रेस विकल्पको रुपमा उदाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले काङ्ग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए ।

महामन्त्री डा.शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।महामन्त्री कोइरालाले सरकारले ऐतिहासिक अवसर प्राप्त गरेको भए पनि सरकार असफल भएको दाबी गरे । कोइरालाले सत्ताको दुरुपायोग स्विकार्य नहुने भन्दै सरकारका गतिबिधीहरु एस्तै रहे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । ।

काङ्ग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्ग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको काङ्ग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए । प्रशिक्षण शनिबार सम्पन्न हुने काङ्ग्रेसले जनाएको छ ।रासस-

प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार  १ : १७ बजे