सरकार फेरिने समाचारमा कुनै सत्यता छैन : मन्त्री महासेठ



काठमाडौँ –

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रिमण्डल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको पनि दाबी गरे ।

दिनहुँ पत्रपत्रिकामा विगतमाजस्तै सरकार आउनेजाने भनेर समाचार आएकोबारे उनले त्यसमा कुनै सत्यता नभएको टिप्पणी गरे । उनले भने,‘त्यो त्रास अहिले देखिएको छ । मन्त्रिमण्डल परिवर्तन हुने भनेर कुराहरु दिनहुँ मिडियामा आईरहेका छन्, पछिल्लो १३/१४ महिनादेखि पत्रिकाले लेख्न छोडेको छैन् । हुन त यो अधिकार प्रधानमन्त्रस्को अधिकारक्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ । तर, अहिले सम्भावना देखेको छैन् । सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको छ । मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गरेको हो । नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि छैनन् नि । उनीहरुको उद्देश्य सरकार छिटो ढलोस भन्ने होला । तर, त्यो सम्भावना छैन् । आजको भोलि नै मन्त्रिमण्डल परिवर्तन हुने सम्भावना मैले चाहीँ देखेको छैन् ।’

मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने स्पष्ट पारे । त्यस्तै, उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भयो र आर्थिक चलेखले भयो भन्ने आरोप लागेको बारेमा पनि खण्डन गरे । उनले भने,‘जब सरुवा नै भएको छैन्, यस्तो कुरा कसरी आएको होला ? एउटा पनि सरुवा भएको छैन् । तर, यसबारेमा दिनहुँ पत्रिकामा कुरा आउँछ । हाम्रै पार्टीका साथीभाईबाट सञ्चालित मिडिया हाउसबाट यस्तो लेखिने गरेको छ।

 

प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार  ११ : ३६ बजे