गुठीको नाममा उत्पीडन सरकारलाई स्वीकार छैन : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं –

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कुण्डित नगर्ने बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कदर गर्दैन की ? भन्ने भ्रम नपाल्न पनि सम्बन्धित सबै निकायलाई उनको आग्रह छ ।

नेपाल संवत ११४० को अवसर पारेर राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकार जनताको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यताको पक्षमा दृढतापूर्वक उभिने पनि पटक–पटक दोहोर्याउने बताए ।

तर गुठीको नाममा भएका सामन्ती उत्पीडन भने सरकारलाई स्वीकार नहुने उपप्रधानमन्त्री पोखरेलको चेतावनी थियो ।

‘जनताले आफू मिलेर गुठीद्धारा स्थापित गर्न चाहेका कुराको पक्षमा सरकार दृढतापूर्वक उभिन्छ,’ उपप्रधानमन्त्री पोखरेलले चेतावनीयुक्त शैलीमा भने, ‘तर गुठीको नाममा जनतालाई जोताहा बनाउन दिने कुरा सरकारलाई स्विकार्य छैन ।’ रासस

प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार  २ : २६ बजे