नेपाली कांग्रेसको केन्द्रिय समिती बैठकले आगामी उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएकाे छ ।
पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समावेश गरि पदाधिकारी बैठकबाट उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रिय समिती बैठकले निर्णय गरेको हो ।
आजको बैठकमा महामन्त्री डा ।शशांक कोइरालाले प्रस्तुत गरेकाे प्रस्ताव उपर केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलवहादुर केसी, महेश आचार्य, एन ।पी ।साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए ।
तेस्तै आजको बैठकले मंसिर १४ गते सम्पन्न हुने उप–निर्वाचन अन्तर्गत सुनसरी जिल्लाको धरान उप–महानगरपालिकाको प्रमुख पदका लागि धरान उप–महानगरपालिका कार्यसमिति, क्षेत्र नं . १ क्षेत्रीय कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत सिफारिस भएका तिलक राईलाई धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठक पछी जारी गरिएको प्रेस बिज्ञप्ति-
कार्तिक १५, २०७६
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा पार्टीका महामन्त्री डा.शशांक कोइरालाले प्रस्तुत गर्नु भएको प्रस्ताव उपर केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलवहादुर केसी, महेश आचार्य, एन.पी.साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राख्नु भयो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
निर्णय नं. १
२०७६ साल मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप–निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (८) (घ) र (ङ) बमोजिमको कार्यसम्पादन गर्न र बाग्लुङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २, भक्तपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र दाङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (७) (ङ) र (च) बमोजिमको कार्य सम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ । केन्द्रीय पदाधिकारीको बैठकले उल्लेखित पदको उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गर्दछ ।
निर्णय नं. २
यहि मंसिर १४ गते सम्पन्न हुने उप–निर्वाचन अन्तर्गत सुनसरी जिल्लाको धरान उप–महानगरपालिकाको प्रमुख पदका लागि पार्टीको विधान अनुसार धरान उप–महानगरपालिका कार्यसमिति, क्षेत्र नं. १ क्षेत्रीय कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत रुपमा श्री तिलक राईको नाम सिफारिस भई आएकोले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गर्दछ ।
निर्णय नं. ३
तराइ–मधेश लगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठ पर्वको पूर्व सन्ध्यामा बसेको यो बैठक हार्दिकता, प्रेम र विश्वास अभिवृद्धिको कामना साथ समस्त नेपाली दिदीवहिनी दाजुभाइमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
समवेदना प्रस्ताव
नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका उपसभापति एवं महाधिवेशन प्रतिनिधि भुपेन्द्रजंग महतको भारतको दिल्ली स्थित मेडिओर अस्पतालमा उपचारका क्रममा कात्र्तिक ६ गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य खड्कबहादुर रामजालीको उपचारको क्रममा कार्तिक १२ गते, नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व एवं २०३६ सालमा पद्मकन्या क्याम्पस स्ववियु सदस्य सरिता वनको गत असोज २० गते, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका शाखा अधिकृत एवं पार्टीको १३ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि सूर्यप्रसाद भट्टराईकी ८७ वर्षीया माता जसोदा भट्टराईको गत असोज २२ गते, नेपाली कांग्रेसका पुराना व्यक्तित्व एवं धनुषा फुलगामाका क्रियाशील सदस्य सिंहेश्वर राउत, जनकपुर उपमहानगरपालिका वडा नं. १ का पूर्व सभापति रामकुमार साह र नेपाल तरूण दल जुम्लाका निवर्तमान जिल्ला अध्यक्ष लक्ष्मण शाहीका कान्छा भाई सुरेन्द्रकुमार शाहीको गत असोज २२ गते, नेपाली कांग्रेस भक्तपुरका पूर्व जिल्ला सदस्य, पूर्व महाधिवेशन प्रतिनिधि र भक्तपुर नगरपालिकाको तत्कालिन वडा नंं १६ का निर्वाचित वडा अध्यक्ष ओमप्रकाश भुजुको हृदयघातका कारण कार्तिक १४ गते, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उवं नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य श्री प्रभु बुठाथोकिको ८३ वर्षीय ममतामयी माता मेघ कुमारी बुठाथोकि, नेपाल दलित संघ नुवाकोटका क्षेत्र नं. ३ का सभापति किस्याङ ५ वस्ने ५३ वर्षिय ज्ञान वहादुर सुनारको २०७६ कार्तिक ७ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव








