तनहुँ –
नेपाली काङ्ग्रेसका शिर्ष नेताहरुले आगामी उपनिर्बाचनमा काङ्ग्रेसले जित्ने सुनिश्चित भएको बताएका छन ।
प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार दमौलीमा भएको लोकार्पण कार्यक्रममा बोल्दै शिर्षा नेताहरुले कम्युनिष्ट सरकार सग जनताले आशा मारिसकेकोले आगामी निर्बाचनमा जनताले काङ्ग्रेसलाई रोज्ने दाबी गरेका हुन ।
अहिले सम्मको सरकारको कामलाई मुल्याङ्कन गर्दा सत्तरुढ नेकपालाई अब किन र केका लागी जनताले भोट दिने त्यसको चित्तबुझ्दो उत्तर नभएकोमा नेताहरुले जोड दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्नेमा प्रतिपक्षी पार्टिलाई पेल्ने काम गरेको आरोप लगाए ।सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने होकी भन्ने चिन्ता रहेको बताए ।प्रजातन्त्रको रक्षाका लागि काङ्ग्रेस पछाडि नहट्ने प्रष्ट पार्दै उनले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताए ।अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई तिहाई मतको दुरुपयोग गर्न नहुनेमा जोड दिए ।“काङ्ग्रेस समाप्त भए लोकतन्त्र समाप्त हुने भएकाले काङ्ग्रेसलाई बलियो शक्ति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो”, उनले भने ।
महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै काङ्ग्रेस एकजुट भए कसैले पनि हराउन नसक्ने ठोकुवा गरे ।विचार र इतिहास राम्रो तथा कार्यकर्ता सक्षम रहेकाले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो शक्तिको रुपमा उदय हुने उनले ठोकुवा गरे ।महामन्त्री कोइरालाले गुटगत मानसिकता त्याग्न सबैलाई आग्रह गर्दै आफैभित्रको बिभाजनले काङ्ग्रेस कमजोर बनेको अन्यथा काङ्ग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।
प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले स्व नेता पोखरेलको राजनीतिक एवं आत्मवृतान्त ‘मेरो जीवन यात्रा’बारे समीक्षा गरेका थिए ।
कार्यक्रममा काङ्ग्रेस नेता रामचन्द्र पोखरेल, प्रदेशसभा सदस्यद्वय सरिता गुरुङ र दोबाटे विक, काङ्ग्रेस नेता समुन्द्र गोदार, तनहुँ काङ्ग्रेसका उपसभापति लक्ष्मी आचार्यलगायतले स्व गोवद्र्धनको सिद्धान्त र विचार आजका काङ्ग्रेस नेता कार्यकर्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए ।








