प्रधानमन्त्री ओलीसँग सल्लाह र सहमतिमै भारतले नक्सा छापेको हो :  कांग्रेस सभापति देउवा



पोखरा, ७ मंसिर –

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको गम्भिर आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओलीको सहमतिबेगर भारतले लिपुलेक र कालापानीमा दाबी गर्न नसक्ने जिकिर गरे । उनले भने,‘म प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो । महाकाली नदीलाई सीमा मानेर पानी आधा-आधा गर्ने सहमति भएको हो ।’

उनले प्रधानमन्त्री ओली भारतसँग लम्पसार परेको पनि आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओलीजी लिपुलेक र कालापानी भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गर्दै लम्पसारवादमा परिणत हुनुभयो । हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भू–भाग फिर्ता ल्याउन पहल गरौं, हामी साथ दिन्छौं भन्यौं ।

सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं । तर, सरकार मौन छ । कानमा तेल हालेर अझै बसिरहेको छ ।’

‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन ? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन।’

उक्त चुनावी सभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र  पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारे। उनले अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको बताए। उनले उम्मेदवार खेमराज पौडेललाई तपस्वी नेताको संज्ञा दिए। साथै खेमराजको सम्मानका लागि अत्यधिक मत दिएर जिताएर पठाउन आग्रह गर्दै नेता पौडेलले खेमराजको जितसंगै मुलुकको मुहार फेरिने दावी गरे। उनले भने, ‘खेमराजले चुनाव जितेर सांसद मात्रै बन्दैनन्, अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिंडाउन पनि सघाउँछन्।’

महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागिपरेको आरोप लगाए। ‘सरकार मुलुकको हितमा, जनताको हितमा, लोकतन्त्र, संविधानको हितमा, संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उनले भने, ‘सरकार सच्चिनका लागि पनि यो चुनाव कांग्रेसले नै जित्न आवश्यक छ।’

केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाए। ‘सुशासन, समृद्धि, शान्ति र सुखको ठूला ठूला भाषण गर्ने कम्युनिष्ट कस्ता रहेछन् भन्ने यो २ वर्षमै देखिएको छ’, उनले भने, ‘कम्युनिष्ट देश र जनताको हितमा कहिल्यै हुन सक्दैनन्।’

युवा नेता गगनकुमार थापाले स्व। रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि भोट दिने हो भने त्यो रवीन्द्रप्रति अपमान हुने बताए। हिजोका दिनमा पृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन हुँदैन भनेर रवीन्द्र राजा विरुद्ध लागेका स्मरण गर्दै नेता थापाले अहिले रवीन्द्रको उत्तराधिकारी हुँ, सपना पूरा गर्छु भन्दै हिंड्न नैतिक हैसियत नहुने बताए।

 

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  १२ : १७ बजे