भारत र चिन दुबैसग सन्तुलित सम्बन्ध बनाऔ : प्रचण्ड



काठमाडौँ –

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निकटका छिमेकीसहित विश्वका सबै देशसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै सबैभन्दामाथि नेपाल राष्ट्रलाई राख्नुपर्ने बताएका छन् ।

नेपाल–चीन मिडिया फोरमले गरेको ‘नेपाल–चीन सहयोग सुदृढीकरण र दुई देशबीचको जनस्तरको सम्बन्ध विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यशालामा अध्यक्ष दाहालले आज सञ्चारकर्मीमाझ नेपाली जनताको सामाजिक–आर्थिक विकासको चाहना साकार तुल्याउन सन्तुलित सम्बन्धको जगमा सहायता जुटाउनेमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

“हामी कुनै देशको समर्थक नबनौँ, नेपाललाई केन्द्रमा राखौँ”, मुलुकको स्वाधीनता र राष्ट्रियताको जगेर्ना नेपालीको प्राथमिकता हुनुपर्ने बताउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज सञ्चारकर्मीमाझ भने ।

चिनियाँ राष्ट्रपति सी चीनफिङको हालै सम्पन्न भ्रमणपछि द्विदेशीय सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै उनले नेपाललाई भू–जडित देश बनाउन सघाउने राष्ट्रपति सीको घोषणाले सारा नेपाली उत्साहित भएका र पारस्परिक सम्बन्ध सुदृढ भएको विचार व्यक्त गरे । एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र जुनसुकै सरकारले त्यसलाई निरन्तरता दिने बताउँदै चीनको नेपालप्रतिको नीति पनि अपरिवर्तनीय नै रहेको अनुभव सुनाए।

राष्ट्रिय एकतालाई सुदृढ, भौगोलिक अखण्डताको रक्षा, जनताको सार्वभौमसत्ता र स्वाधीनताको संरक्षणजस्ता राष्ट्रिय महत्वका विषयमा सञ्चार क्षेत्रले जनमतलाई प्रभावित पार्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले भारतसँगको सीमा समस्या राजनीतिक एवं कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै विवेकशील भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले उत्तेजना र आवेग त्यागेर शालिन ढङ्गले समस्याको निरुपण खोज्नुपर्छ भने– “कालापानीबारे हामीले गम्भीररुपमा भारतको ध्यानाकर्षण गराएका छौँ, दुवै देशमा स्थिर सरकार रहेकाले समाधान खोज्न पनि सहज हुनेछ ।”

एक फरक प्रसङ्गमा उनले चीन, भारत र नेपालबीचको साझेदारी तीनवटै मुलुकका निम्ति लाभप्रद हुने विचार व्यक्त गर्दै आफू ‘टु प्लस वान’ को पक्षमा नरहेको स्पष्ट गरे । उनले रेल, सडक र हवाईमार्गबाट चीनलगायत देशसँग सम्पर्क सञ्जाल स्थापना मात्र नभई शक्तिशाली एवं प्रभावकारी सञ्चार सम्पर्कका माध्यमबाट पारस्परिक लाभ र राष्ट्र–राष्ट्रबीचको सरकारी र जनस्तरको सम्बन्धलाई बलियो बनाउने बताए ।

परिवर्तन र प्रगतिका निम्ति जनमत सिर्जना गर्ने सञ्चार क्षेत्रको ठूलो महत्व छ भन्दै उनले सूचना तथा सञ्चार प्रविधिको विकासबाट समृद्धिको यात्रामा सजिलै अघि बढ्न सकिने बताए ।

मञ्चका अध्यक्ष किशोर श्रेष्ठको सभापतित्वमा भएको कार्यशाला उद्घाटनसत्रमा पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले चीनले हासिल गरेको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

 

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  १० : ०३ बजे