न्यू सञ्चार, धरान-
धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले आज पदभार ग्रहण गरेका छन् ।धरानको गणेशमान चोकमा रहेको गणेशमान सिंहको सालिक र पूर्व मेयर स्व . तारा सुब्वाको सालिकमा माल्यार्पण गरेपछी धरान नगरपालिकाको कार्यलय पुगेर उनले उनले पदभार ग्रहण गरेका हुन् ।
उनले साढे १२ बजे साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । उनलाई उपमेयर मञ्जु भण्डारी सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले कार्यकक्षमा पदभार ग्रहण गराएका थिए । त्यसअघि मेयर राईले धरान १६, गणेशमान चोकस्थित लौहपुरुष गणेशमानको सालिकमा माल्र्यापण गरेका थिए भने धरान १९, हरियाली वन समुह परिसरमा स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा पनि माल्र्यापण गरेका थिए ।
केन्द्र देखी स्थानिय सरकारले जताततै बढाएको करले नागरिकहरुले असहजता झेल्नुपरेको नागरिक आवाजलाई ख्याल राख्दै धरान नगरपालिकाले निर्धारण गरेको कर आगामी नगरपरिषदबाट घाटाउने प्रस्तावमा हस्ताक्षर गदैं उनले पदभार ग्रहण गरेका थिए ।
पदभार ग्रहण गर्दै यसअघि, पाँचौ नगरसभाले पारित गरेर लागु गरेको आर्थिक ऐन २०७६ को केही राजश्वका दरहरुप्रति व्यापक गुनासो र अस्पष्ट देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिनको लागि बिशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए ।
‘करलाई व्यवहारिक र वैज्ञानिक बनाउने निर्णय भएको छ, यसमा सहयात्री राजनीतिक दलले पनि विश्वास दिएको छ, उहाँहरुले हिजै विज्ञप्ती निकालेर नगरपालिकालाई प्रोत्साहन गर्नुभएको छ,’मेयर राईले भने,‘राजनीतिक दल र नगरबासीहरुको भावना अनुसार कर पुनरावलोकन गरेर कार्यान्वयन गर्न चाहन्छँु ।’
पदभार ग्रहणलगतै नवनिवार्चित मेयर राईले कर्मचारी महाशाखा प्रमुखलगायतसहितको बैठक बसेर जनताको काम ढिलासुस्ती नगरि निष्ठापूर्वक गर्न निर्देशन दिए ।










