काठमाडौँ-
निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।
आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीकालागि सोमबार राजनीतिक दलसँग छलफल गर्ने भएको हो ।राष्ट्रियसभाको निर्वाचन गर्ने सन्दर्भमा आयोगले राजनीतिक दलहरुसँग परामर्श गर्न सोमबार छलफल कार्यक्रम आयोजना गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ । आगामी फागुन २० गतेबाट पदावधी सकिने राष्ट्रियसभा सदस्यहरुमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।
सोमबार राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श दिने र त्यसपछि निर्वाचनको मिति घोषणा हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन् ।
राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था छ ।








