काठ्माण्डौ, पुस २२-
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदमा विचाराधीन सूचना तथा प्रविधि विधेयकले नागरिकको वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजेको आरोप लगाएका छन ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यादवले उक्त विधेयक परिमार्जन गरी जारी गर्न माग गर्दै एस्तो बताएका हुन । उनले बिज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगलगायत संस्था र वुद्धिजीवीले समेत यस विधेयकलाई परिमार्जन नगरी जारी गर्न नहुने सुझाव दिएकाले उक्त बिधेयक परिमार्जन गर्नुपर्ने ब ताएका छन ।
‘यसमा भएका व्यवस्थाले नैतिकता तथा भद्रताको आधारमा वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजेको देखिन्छ जो अन्य कानुनी व्यवस्थाको प्रतिकूल छ,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘यो विधेयक मानव अधिकार, नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको प्रतिकूल एवं प्रतिगमनकारी छ। यसकारण समाजवादी पार्टीले सरकारलाई सूचना प्रविधिसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जारी नगरियोस् भनी माग गर्दछ।’
‘विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई संकूचित गर्ने वा नियन्त्रण गर्ने अभिप्राय बोकेको देखिएकोले यसलाई परिमार्जन नगरे दूरगामी रूपमा सरकार, राजनीतिक दल वा कर्मचारीतन्त्रले गरेको गैरजवाफदेही कार्यलाई समेत निगरानी गर्न साथै आलोचना गर्न रोक लगाउनेछ र यस हिसाबले लोकतान्त्रिक अभ्यासलाई नियन्त्रित गर्नेछ,’ यादवको विज्ञप्तिमा भनिएको छ।
केही समयअघि सरकारबाट बाहिरिएका यादव उपप्रधानमन्त्री हुँदै सरकारले यो विधेयक संसदमा पेश गरेको थियो।








