नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीकतैबाट आघात पुर्याउने कार्य गर्न नहुनेमा जोड दिए।
प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँपुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ स्थित टिकुलीगढमा शनिबार आयोजित श्रद्धाञ्जलिसभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीबाट हस्तक्षेप गर्न नहुने बताए।
महामन्त्री डा शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व पोखरेलको योगदानको कदर हुने उल्लेख गरे। कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेलाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरे।महामन्त्री कोइरालाले पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको चर्चा गरे।
कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, काँग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर राना लगायतले इमान्दार कार्यकर्ताको योगदानले काँग्रेस अहिलेको अवस्थामा आएको बताए।
प्रदेशसभामा विपक्षी दलका नेता पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो। विसं २०१४ मा नेपाली काँग्रेसमा आबद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गरेका थिए। भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गरेका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिइ प्रवासबाट फर्केर पार्टीमा क्रियाशील भएका थिए।








