बालुवाटार जग्गा प्रकरण : अख्तियारले चलायो मुद्धा,को को परे अख्तियारको फन्दामा ?



बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

प्रमुख आयुक्त नविन घिमिरेसहित आयुक्तद्वय डा. गणेशराज जोशी र सावित्री थापा गुरुङ सम्मिलित आयोग बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको हो । निर्णयलगत्तै अख्तियारको टोली बुधबार नै मुद्दा दर्ता गर्न विशेष अदालत पुगेको थियो ।

तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध अख्तियारले मुद्दा दायर गर्ने निर्णय गरेको छ । त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गर्ने निर्णय भएको छ । बस्न्यात अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त भइसकेका व्यक्ति हुन् । पन्त चुनावी सरकारमा मन्त्री थिए । भ्रष्टाचार आरोपको सूचीमा २२ रोपनी जग्गा ‘घुस’ लिएका पूर्व्निर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, गृहमन्त्रालयका पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाई अनि सासु सोदाकुमारी चापागाई समेत छन् ।

हाल चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ । उनी २०६६ सालमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गलत राय दिएको आरोपमा परेका हुन् । अख्तियारले एक सय सत्तरी भन्दा बढीलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको बुझिएको छ । प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको यसअघिको छानबिनमा देखिएको थियो । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो ।

त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए । ललिता निवासको २ सय ९९ रोपनी जग्गा पञ्चायतकालीन सरकारले अधिग्रहण गरेको थियो । २०४९, ६२, ६७ र ६९ सालमा गरी चारपटक उक्त जग्गा अतिक्रमण भएको व्यक्तिको नाममा दर्ता भएको छ । गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा करिब १ सय ४० रोपनीभन्दा बढी छ ।

जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  १ : ३८ बजे