राज्यलाई पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूहलाई किन दिइयो ? सांसद डिला संग्रौला



कांग्रेस सांसद डा. डिला संग्रौलाले सरकारले ऐननै परिवर्तन गरेर हतार हतार यती ग्रुपलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण को हो भनि प्रश्न उठाएकी छ्न ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै संग्रौलाले नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाएर सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएकी हुन ।

संग्रौलाले भनिन्,’अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ । नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको छ । नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ ।

पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन दिइयो ? पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो ? यतीसँग सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको तात्पर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु । साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।’

उनले थप भनिन -यतीसँग सरकार सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको अन्तर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु । साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  ९ : ४६ बजे