तनहु । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिएका छन् । शुक्रवार नेपाली काँग्रेस ब्यासनगर समितिले दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प समेत नरहेको बताएका हुन् ।
कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा काँग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । “काँग्रेस सुध्रिए मात्रै लोकतन्त्र विरोधीसँग लड्न सक्छौ”, वरिष्ठ नेता पौडेलले भने, “नसुध्रिए झन् कमजोर अवस्थामा पुग्छौ ।”
वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिलाई सम्मानित बनाउन वैचारिक बहस शुरु गर्नुपर्ने बेला आएको बताए। काँग्रेसको सिद्धान्तले मात्रै मुलुकको समृद्धि सम्भव रहेको दाबी गर्नुहुँदै वरिष्ठ नेता पौडेले राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने आवश्यकता औंल्याए। वरिष्ठ नेता पौडेलले नेता र पार्टी सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै त्यसतर्फ पार्टीका कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए।
नेता पौडेलले भने,“वर्तमान सरकार राज्य व्यवस्थालाई कम्युनिष्ट दर्शनमा ढाल्ने प्रयास गर्दैछ ।” नेता पौडेलले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू गर्ने प्रयास भइरहेको समेत चर्चा गरे। नेपाल विद्यार्थी सङ्घलाई अलपत्र पार्ने काम भएपछि पार्टीको विधानको धारा ४२ बमोजिम सङ्घमा पदाधिकारी चयन गरिएको नेता पौडेलले स्पष्ट पारे।








