सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको ७० करोड घुसको बार्गेनिङ आरोप सत्य नभएको जिकिर गरेका छन्।बिहीबार बिहान कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने समेत बताएका छन ।
आजै बिहीबार कन्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै बाँस्कोटाले भने, ‘आरोपहरु आउँछन् कहिले भ्रष्टाचारको, कहिले दुराचारको, तर ती प्रमाणित हुनुपर्छ।’ उनले यस्ता आरोप दिनदिनै लाग्नेभन्दै आफूमाथि लागेको आरोप सत्य नभएको बताए।
मैले पार्टी र नेता कार्यकर्तालाई धोका दिन हुँदैन’, उनले भने, ‘प्रविधि अनेक थरिका छन्। ३० देखि ६० कति दिने कुरा हुन्छ नि। जे भएपनि अर्बबाट करोडमा आएपछि किन चिन्ता गर्नु पर्यो।’
आफूमाथि लागेको गम्भीर आरोपलाई हाँसोमा उडाउँदै उनले आरोप पुष्टि हुनुपर्ने दाबी गरे।
‘नेकपाको भ्रष्टाचार अस्वीकार गर्ने चरित्र छ। यसका नेता कार्यकर्ताले गर्न मिल्दैन, गरेमा पार्टीले भोग्दैन। व्यक्तिले भोग्नु पर्दछ’ उनले भने, ‘ खाएको लाग्छ, नखाएको लाग्दैन। आरोप लगाएर त हुदैन नि। त्यसमा अरु नै चिजको संयोजन होला नि।’
‘यहाँ ६० करोडको कुरा छ होइन ? जतिसुकै करोडको कुरा होस् । मलाई के थाहा छ भने मैले आन्दोलनलाई धोका दिनुहुन्न । दललाई धोका दिनुहुन्न र म भोली कमरेडहरुसँगै बाच्नुपर्छ’, मन्त्री बाँस्कोटाले भनेका छन् ।
उनले नेकपाको खास चरित्र भ्रष्टाचारविरुद्ध भएको भन्दै पार्टीले यसलाई अस्वीकार नै गर्दै आएको दावी पनि गरे ।








