कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आफु संलग्न नरहेको दाबी गरेका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्बाट यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका हुन् । सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।
देउबाले बिज्ञप्तिमार्फत ०६४ मा नेपाल ट्रस्ट ऐन जारी हुँदा ट्रस्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रूपमा परिभाषित गरेको स्मरण गराउँदै बोर्डले गर्ने निर्णयमा प्रधानमन्त्रीका रूपमा आफूलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले गलत रहेको जिकिर गरेका छन् ।
देउबाले थप भनेका छन ‘यो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको छु ।’
कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवावलाई निरन्तरता दिन समेत सभापति देउवाले अपिल गरेका छन् ।









