काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुई अध्यक्षसँग भेटघाट नभएको बताएका छन् । कांग्रेसका नेताहरुले राखेको जिज्ञासामा सभापति देउवाले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पछिल्लो समय भेटघाट नभएको बताएका हुन् ।
बिहीबार प्रधानमन्त्री ओलीले कांग्रेस नेता शेखर कोइरालासँग देउवालाई भेटेको खुलासा गरेका थिए । आफूसँगको भेटघाटअघि दाहाल र देउवाबीच भेट भएको जानकारी आफूलाई प्राप्त भएको ओलीले कोइरालासँग बताएका थिए । कांग्रेस सांसद विनोद चौधरीको समन्वयमा उनकै निवासमा चार जना उद्योग–व्यापारीसहित दाहाल–देउवा भेट भएको चर्चा बाहिरिएपछि देउवासँग निकटस्थ नेताले जिज्ञासा राखेका हुन् । देउवाले केही साताअघि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका सन्दर्भमा दाहालसँग भेट भएको र त्यसपछि नभएको बताएका थिए ।
नेकपा अध्यक्ष दाहालले पनि शुक्रबारै राजधानीबाहिरको कार्यक्रममा देउवासँग हालै भेट नभएको दाबी गरेका छन् ।
यस्तै कांग्रेसले पार्टीको केन्द्रीय विभाग गठनमा संस्थापनइतर पक्षले सहयोग नगर्ने भएपछि आफ्नो समूहका सदस्य मात्रै राखेर भए पनि गठन गर्ने मनस्थितिमा देउवा पुगेका छन् । संस्थापनइतर पक्षले कार्यकाल सकिएपछि विभाग गठनको औचित्य नभएको र महाधिवेशनलाई प्रभावित पार्ने मात्रै योजना रहेको तर्क गर्दै आएका छन् । ‘अहिले विभाग गठन गर्नुका पछाडि महाधिवेशन प्रभावित पार्ने उद्देश्य देखिन्छ,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘यो कुरा हामीलाई स्वीकार्य छैन ।’
केही दिनअघि महामन्त्री शशांक कोइरालाले कार्यकाल सकिएर काम चलाउ हैसियतमा पुगिसकेका देउवाले विभाग गठन गर्न नहुने बताएका थिए । ‘अब महाधिवेशनको तयारीमा जानुपर्छ, विभाग गठन गरेर महाधिवेशनलाई अल्झाउनेतिर लाग्न हुन्न,’ उनले भनेका थिए, ‘आचारसंहिताले पनि शेरबहादुरजीलाई विभाग गठन गर्न दिँदैन ।’
देउवाले अधिकतर केन्द्रीय सदस्यलाई व्यवस्थापन गर्ने नाममा विभागको संख्यासमेत बढाएका छन् । विधानमा २८ विभागको व्यवस्था भए पनि पुस ११ मा संस्थापनइतर पक्षीय नेताको बहिष्कारबीच बसेको केन्द्रीय कार्यसमिति बैठकले संख्या थपेर ४७ पुर्याएको थियो ।








