स्वस्थ्य समाज निर्माण भएमात्रै जनता सुखी र विकासका कार्य सहज हुन्छ : साउद



कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले सबैको पहुँच पुग्नुपर्ने बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिका वडा नंं ९ ले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरको आज उद्घाटन गर्नुहुँदै उहाँले स्वस्थ्य समाज निर्माण भएमात्रै जनता सुखी हुने र विकासका कार्य सहजरुपमा अगाडि बढ्ने बताउनुभयो ।

“बाजे बराजुकोपालामा मस्तिष्कघात, मिर्गौला फेल, मुटको समस्या भएका बिरामी नगन्यमात्रामा हुने गरेका थिए”, उहाँले भन्नुभयो, “हाल यिनै रोगका कारण अधिकांश बासिन्दा पीडित भएका छन्, त्यो सबै तरकारी लगायतको बालीमा किटनाशकको अनावश्यक प्रयोगले भएको छ, साठी प्रतिशतमा शुद्ध खानेपानीको अभाव र किटनाशकको प्रयोगले घातक रोग निम्तिने गरेको पाइएको छ ।”

विश्वभरि अहिले कोरोना भाइरसको सन्त्रास फैलिएको चर्चा गर्नुहुँदै उहाँले त्यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने बताउनुभयो । फरक प्र्र्रसङ्गमा उहाँले जिल्लामा पछिल्ला दिनमा हत्या हिंसाका घटना बढेका उल्लेख गर्नुभयो । अपराधीलाई उन्मुक्ति दिने प्रवृत्तिका कारण हत्या हिंसाले प्रश्रय पाएको उहाँको जिकिर थियो ।

नगरप्रमुख दिलबहादुर ऐरले निर्वाचित भएर आएपछि जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याएको बताउनुभयो । उहाँले नगरभित्रका आठवटै स्वास्थ्य संस्थामा चौबिस घण्टे प्रसूति सेवा पुर्याइने जानकारी गराउनुभयो । नगर अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट रु २५ लाख बजेट विनियोजन भएर आएकाले तत्कालै अस्पताल भवन निर्माणको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।

शिविरमा पेट, छाती, मिर्गौला, स्त्री रोग र आँखाका बिरामीको उपचारका लागि चिकित्सकको व्यवस्था गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । शिविरमै निःशुल्करुपमा औषधि उपलब्ध गराउने कार्यसँगै निःशुल्क प्रयोगशाला सेवासमेत प्रदान भइरहेको छ । वडाको वार्षिक कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  १० : ४१ बजे