कांग्रेस शभापती शेर बहादुर देउबाले विष्णु पौडेललाई नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको सभापति बनाउने निर्णय गरेकोमा असहमती प्रकट गर्दै उक्त निर्णय सच्याउन आग्रह सहित महामन्त्री डा. शशाङ्क कोइरालाले एक पत्र लेखी शभापती देउबाको ध्यानाकर्षण गराएका छन ।
महामन्त्री कोइरालाले देउबाको निर्णयले पार्टिभित्र गम्भीर सांगठनिक विवाद सृजना भएको र पार्टी बिधानको समेत उल्लघन भएको पत्रमार्फत शभापती देउबालाई ध्यानआकर्षण गराएका छन ।
महामन्त्री कोइरालाले पठाएको पत्रको पुर्णपाठ-
फागुन २८, २०७६
आदरणीय श्री शेरबहादुर देउवा
सभापति,
नेपाली कांग्रेस ।
विषय : नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला नेतृत्व सम्बन्धमा –
२०७६ साल फाल्गुण २३ गते तपाईद्वारा हस्ताक्षरित पत्रद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (७) बमोजिम श्री विष्णुप्रसाद पौडेललाई नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) कोजिल्ला सभापतिले पार्टीको विधान अनुसार गर्न पाउने कार्य गर्न गराउन उक्त जिल्लाको पार्टी संगठनसंचालनको जिम्मेवारी प्रदान गरिएको भन्ने जानकारी प्राप्त भयो । सो पत्र नेपाली कांग्रेसको मौजुदा विधानको व्यवस्था प्रतिकूल हुने कुरा तल बुँदागत रुपमा उल्लेख गरेको छु । साथै, राजनीतिक रुपमापनि यो कार्यले गम्भीर सांगठनिक विवाद सृजना गरेको कुरामा ध्यान आकृष्ट गर्न यो पत्र लेख्दैछु ।
(१) नवलपरासी जिल्ला विभाजन पश्चात नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा रिक्त रहेको सभापति पदमा नेपाली कांग्रेसको विधानको धारा ५० को उपधारा (८) बमोजिम साविक नवलपरासी जिल्ला कार्यसमितिका उपसभापति श्री अर्जुन पोख्रेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । कार्यवाहक सभापति हुन नेपाली कांग्रेसको विधानको धारा १२ (५) (क) (१) बमोजिम १० वर्ष क्रियाशील सदस्य रहेको महाधिवेशन प्रतिनिधि भन्ने व्यवस्था आकर्षित
हुँदैन । यो व्यवस्था सभापतिको उम्मेदवार हुनका लागि मात्रै हो ।
(२) धारा ५० (८) ले सम्बन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिएको अवस्थामा वा ६ महिनाभित्र महाधिवेशनको मिति नै तोकिएमा सभापतिका लागि अलग्गै निर्वाचन गर्नु पर्ने छैन भन्ने व्यवस्था गरेको छ । यस व्यवस्थाले नयाँ अधिवेशन गर्न सक्ने वा पाउने अवस्था देखिएन र विधान बमोजिम कार्यवाहक सभापति हुँदाहुँदै नयाँ सभापति तोक्ने हामीसँग कुनै वैधानिक बाटो छैन ।
(३) तपाईद्वारा प्रेषित परिमार्जित पत्रमा उल्लेख भएको विधानको धारा २५ (७) जिल्ला नेतृत्व छनौटका सन्दर्भमा आकर्षित हुने देखिदैन । यो धारा संगठनका निकाय गठनका सम्बन्धमा व्यवस्था गरिएको होइन । यो धाराको तत्काल परि आएका कार्यका लागि मात्रै आकर्षित हुन्छ,नेतृत्व छनौटका लागि विधानले अन्य धारामा प्रष्ट व्यवस्था गरेको कुरा माथि नै उल्लेख गरिसकेको छु ।
(४) नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको नेतृत्वका विषयमा पार्टीका केन्द्रीय पदाधिकारीहरुको बैठकले श्री अर्जुन पोख्रेल कार्यवाहक सभापति रहेको विषयलाई सर्वसम्मतीले निर्णय गरेको कुरा हामी सबैको स्मृतिमा रहेको छ भन्ने विश्वास राख्दछु । साथै, कार्यवाहक सभापति श्री अर्जुन पोखरेलकै नेतृत्वमा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा स्थानीय तह, प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न भएको र सम्पूर्ण सांगठनिक समायोजन कार्यहरु पूरा भई त्यसको अभिलेख समेत केन्द्रीय कार्यालयमा रहेको यहाँलाई अवगत नै छ ।
(५) नेपाली कांग्रेसका विधानको धारा ४५ मा भएको व्यवस्था अनुरुप कुनै कारणले पार्टीका कुनै पनि निकायमा रिक्त हुन आउने स्थानका लागि यस विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन प्रक्रियाबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिने व्यवस्था रहेकाले कार्यवाहक सभापति विधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा नयाँ निर्णय गर्ने कुनै कारण देखिदैन ।
आदरणीय सभापतिज्यू,
आम निर्वाचन पछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर मैले धेरै साथीहरुको आलोचना सहँदै सभापतिज्यूलाई सहयोग गरेको हुँ । तर पार्टी भित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ । यस्तो परिस्थितिको अन्त्य गरी हामी सबै बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न हामी बीच छलफल र कुराकानी भैरहेको बखतमा विधानमा तोकिए बाहेकका विभाग बनाइनु, पार्टीका केही साथीहरुलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टी भित्र एकताको वातावरण थप बिथोलिएको मेरो बुझाई छ ।
अन्य विषयमा असहमति भए तापनि हामीले पार्टीको १४ औं महाधिवेशनको प्रकृया प्रारम्भ गरिसकेका छौं । महाधिवेशनका कार्यक्रमहरु समेत तय भई सकेका छन् । तर, एकाङ्की रुपमा हुने निर्णयले पार्टीको १४ औं महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीर रुपमा प्रभावित हुन्छ ।महाधिवेशन हामी सबैको साझा आयोजना हो । यो सर्वोच्च आयोजनामा पार्टीका सबै साथीहरुको उत्साहपूर्ण सहभागिताको आवश्यकता पर्दछ ।विधानको व्यवस्था अनुसार सभापतिको काम, कर्तव्य र अधिकार पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने हो । देशमा सबै राजनीतिक पार्टी र आम नागरिक सामु नेपाली कांग्रेसको सञ्चालन पद्धतिलाई अनुकरणीय रुपमा कायम राख्नु हामी सबैको कर्तव्य हो ।
पार्टीको समग्र नेतृत्व गर्ने जिम्मेवारी सभापतिज्यू स्वयंको रहेको कुरा मनन गर्नु हुन सादर अनुरोध गर्दछु । तसर्थ, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला विधानको व्यवस्था बमोजिम श्री अर्जुनकुमार पोख्रेल कार्यवाहक सभापति रहेको जिल्ला कार्यसमितिलाई नै यथावत कायम राख्नु हुन अनुरोध गर्दछु ।
जय नेपाल !
–








