काँग्रेस पदाधिकारी बैठकको निर्णय : सडकमा अलपत्र परेका नागरिकलाई सरकारले तुरुन्त उचित व्यवस्थापन गर्न माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारी बैठकले यस्तो अवस्थामा पनि सरकार सम्वेदनहीन बनेको जनाएको छ । काँग्रेसले सडकमा अलपत्र परेका नागरिकलाई सरकारले तुरुन्त उचित व्यवस्थापन गर्न माग गरेको छ ।

शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले राहत वितरणका लागि सर्वदलीय समिति बनाउन माग गरेको छ ।

बैठकपछि काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘राहत वितरण गर्दा पक्षतापूर्ण भयो भन्दै विभिन्न जिल्लाबाट सूचना आएकोले राहत वितरणका लागि सर्वदलीय समिति बनाउनुपर्ने निर्णय भएको छ ।’

लकडाउनका कारण दैनिक ज्यालादारी श्रमिक र न्युन आय भएका व्यक्तिहरु खान र बसाको अभावले गर्दा ८,१० दिन हिँडेर काठमाडौंबाट कैलालीसम्मलामो दुरीमा पैदल यात्रा गनुपर्ने बाध्यता आएको काँग्रेसको बैठकको निष्कर्ष छ ।

मुख्यसचिव पौडेलले भने, ‘विदेशमा रहेका नेपालीहरु, जो दुःखमा छन्, अलपत्र परेका छन्, तत्काल नेपाल आउने इच्छा राख्छन् । उहाँहरुलाई नेपाल ल्याउनुपर्यो बैठकले निर्णय गरेको छ । ‘

उनका अनुसार कोरोना भाइरस परीक्षणको दायरा थप विस्तार गर्न बैठकले जोडदार माग गरेको छ । लकडाउनपछि पनि हजारौँ मानिसहरु विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको भन्दै सरकारले अहिलेसम्म १५, २० हजार मानिसको मात्र परीक्षण बिडम्पना भएको भएको भन्दै घुम्ती परीक्षण सेवा सञ्चालन गरेरै भए पनि परक्षिणको दायरा बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव पौडेल उपस्थित थिए ।

प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार  ७ : ५८ बजे