बिरामी खोज्दै दैलोदैलोमा



सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका अध्यक्ष अघिअघि चिकित्सकसहितको स्वाथ्यकर्मी टोली पछिपछि । सडकले छोएको बस्तीसम्म सँगसँगै एम्बुलेन्स । बिहान ८ बजे गाउँपालिका कार्यालयबाट निस्केको टोली रात परेपछि मात्र फर्कन्छ । कुनै दिन त यो टोली २–३ घण्टा हिँडेर बस्तीबस्तीमा पुग्छ ।

दुई चिकित्सक दैलोदैलो पुग्छन् र परिवारका सबै सदस्यको ज्वरो नाप्छन् र स्थानीय बासिन्दासँग सोध्छन्, ‘तपाईंहरुलाई अरू रोग छ कि ? टोलछिमेकमा हालसालै कोही बिरामी भएको सुन्नुभएको छ ?’

कोभिड–१९ को संक्रमण फैलन नदिन गाउँपालिकाले सुरु गरेको यो अभियान रोकिएको छैन। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुुसार करिब ५ हजार घरधुरी रहेको यो गाउँपालिकामा स्वास्थ्य टोली ४ हजार नागरिकको आँगनमा पुगिसकेको छ। झन्डै १ हजार ६ सयको स्वास्थ्य परीक्षण गरिसकेका छन्। ‘अझै केही बस्तीमा जानै छ,’ उनले भने, ‘नयाँनयाँ रोगका बिरामी भेटिएपछि थप औषधि र व्यवस्थापनको खाँचो देखियो।’ त्यसका लागि गाउँपालिकामा छलफल सुरु गरेको छु।’

स्वास्थ्य संस्थाहरु बस्तीनजिकै नभएको र सरकारले उपलब्ध गराएको जनशक्तिको भरमा कोभिड–१९ संक्रमणको लक्षण पत्ता लगाउन कठिन भएकाले गाउँपालिकाले दुई चिकित्सकसहितको टोलीलाई बस्तीबस्तीमा पठाउने अभियान सुरु गरेको हो। राजधानीबाट नजिकैको पर्यटकीय स्थल हेलम्बुको माथिल्लो भाग हिमाली क्षेत्रमा जोडिएको छ। बेसी र हिमाली भेगका समेत ५० भन्दा बढी बस्ती छन्।

अभियानका क्रममा वर्षौंदेखि रोग पालेर बसेका र चिकित्सकको सम्पर्कमा कहिल्यै नगएका सयौं बिरामी भेटिएका छन्। अभियानमा संलग्न चिकित्सक कान्छाबाबु लामाका अनुसार प्रसूति, उच्च रक्तचाप, दम, ढाड एवं पेटको समस्या सबैभन्दा धेरै देखिएको छ। ‘गाउँमा दीर्घरोग पालेर उपचार नगरी बसेका बूढापाकाको अवस्था धेरै नाजुक देखियो,’ उनले भने।

कोभिड–१९ संक्रमण नियन्त्रणको नाममा सुरु भएको यो अभियानले गाउँपालिकामा स्वास्थ्यको कस्तो समस्या रहेछ थाहा पाउने मौका मिलेको अध्यक्ष शेर्पाले बताए।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ३ : ३८ बजे