असार १ बाट लकडाउन खुकुलो, के खुल्ने, के नखुल्ने ?



काठमाडौं । सरकारले अत्यावश्यकबाहेक पनि उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालय स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर खोल्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमण रोग ऐन २०२० को उपदफा २ बमोजिम अब खोलिने र बन्द हुने क्षेत्र निर्धारण गर्दै सरकारले लकडाउन सहजीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि निरन्तर देशव्यापी लकडाउन गर्दै आइरहेको थियो । अब सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । निर्णयअनुसार अब सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्टमा गरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय सरकारले गरेको हो ।

सार्वजनिक सवारी साधन बाहेकका निजी सवारी साधन चल्न दिने तर त्यस्ता सवारी साधन एउटा जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने गरी सञ्चालन गर्न दिने निर्णय पनि सरकारले गरेको छ । तर, त्यस्ता निजी सावरी साधनमा चालक र अन्य २ जना मात्र सवार रहन पाउने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने गरी खुला गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए । यो निर्णय सरकारले २१ दिनसम्म कार्यान्वयनमा ल्याउने र त्यसपछि परिस्थिति हेरेर मन्त्रिपरिषद्ले थप निर्णय लिन सक्ने प्रवक्ता खतिवडाले बताए । सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्ने पनि सरकारले नियम बनाएको छ ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  १ : ४३ बजे