प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको चौधौ महाधिवेशनको मिति तय भएसंगैै सदस्यता अभियान लिएर नेताहरु टोलटोलमा पुग्न थालेका छन् । पार्टी सुदृढिकरणको जग मानीएको क्रियाशिल सदस्यता वितरण तथा नविकरणको अभियान लिएर सबै तहका नेता कार्यकर्ताहरु टोल बस्तीमा पुग्न थालेका हुन् ।
पार्टी महाधिवेशन तयारीको सबैभन्दा महत्वपूर्ण काम क्रियाशिल सदस्यता वितरण तथा नविकरण हो । सदस्यता वितरणलाई नेताहरुले विशेष महत्वका साथ हेर्ने गरेका छन् । महाधिवेशनको समयमा पार्टी भित्रको कुन समूहमा नजिक रहेका कति सदस्य आए भनेर नजिक बाट नियाल्ने र सदस्यता वितरणकै कुरालाई लिएर समूहगत विवाद समेत हुनेगरेका उदाहरणहरु प्रसस्त छन । हुन त पार्टी विधानमा क्रियाशिल सदस्यता प्राप्त गर्ने मापदण्ड स्पष्ट तोकीएको हुन्छ । तर व्यवहारत त्यस्तो नदेखिदा पार्टी भित्र वेलावेलामा सदस्यता सम्बन्धि विवादहरु आउने गर्दछन ।
नयाँ क्रियाशिल सदस्यता वितरण तथा नविकरणको काम प्रत्येक बर्ष गर्नु पर्ने भएपनि चुनावी बर्षमा आएर एकै पटक गर्दा अव्यवस्थित र विवाद उत्पन्न हुन सक्ने अवस्था आएको कतिपय नोताहरु बताउछन् । सदस्यता वितरण र नविकरणको काम सम्पन्न गरी महाधिवेशनमा भाग लिनेगरी सदस्यता फाइनल गर्न करिव ३ महिनाको समय खर्च हुन्छ । सदस्यता वितरणको काम सम्पन्न भएपछि पार्टी महाधिवेशनको तयारी व्यवस्थापकिय पक्ष बाहेक ५० प्रसितशत भन्दा बढी पुरा भएको मान्न सकिने महासमिति सदस्य डिल्लीराम खनाल बताउनुहुन्छ ।
अहिले ओखलढुंगाका आठ स्थानीय तहका ७५ वडाहरुमा क्रियाशिल सदस्यता अध्यावधिक तथा वितरणको काम सम्पन्न गर्न जिल्ला र गाउतहका नेताहरु अभियानका साथ खटेका नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । सदस्यता अध्यावधिक संगै राप्रपा, नेकपा, जसपा लगायत पार्टीका कार्यकर्ताहरु कांग्रेसमा समाहित हुने अभियान चलेको पार्टीले जनाएको छ । कांग्रेसको उक्त अभियानले कार्यकर्तामा उत्साह थपेको छ भने पार्टी प्रति नयाँ पुस्ताको आकर्षणमा बृद्धि हुँदैगएको पाइएको छ ।
पछिल्लो ६ महिना भित्र ओखलढुंगामा विभिन्न पार्टीका एक हजार पाँच सय भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको तथ्यांक पार्टीमा रहेको जिल्ला सभापति प्रदीप कुमार सुनुवारले बताउनुभयो । कांग्रेसमा प्रवेश गर्नेको लहर हेर्दा पार्टीमा निकै उत्साह र उर्जा थपिएको आफुहरुले महसुस गरेको सुनुवारको भनाइ छ । २०४८ सालमा नेकपा एमालेको संगठीत सदस्यता लिएर पार्टीमा निरन्तर लागेका स्थानीय नेताहरु समेत अहिले कांग्रेसमा आउन थालेको वाहाले जानकारी दिनुभयो ।
यस पटक सावि रहेका क्रियाशिल सदस्यको शतप्रतिशत नयाँ सदस्यता बढाउन सकिने व्यवस्था गरिएको छ । ओखलढुंगामा पुराना क्रियाशिल सदस्यता ६ हजार तीन सय रहेकोमा शतप्रतिशत नयाँ सदस्यात बढाउदा साढे बाह्र हजार पुग्ने छन् । नयाँ क्रियाशिल सदस्यले समेत १४ औ महाधिवेशनमा भाग लिन पाउने र अन्य पार्टीबाट आएका नेताहरुले महाधिवेशनमा चुनाव लड्न पाउने व्यवस्था रहेको पार्टीले जनाएको छ ।
विगतका अभ्यास हेर्दा पार्टीको आन्तरिक चुनावमा आफ्नो प्रभाव जमाउन नेताहरु स्वयमले शुल्क तिरेर नजिकका र अन्य पार्टीमा आवद्ध कार्यकर्तालार्ई समेत दिइदै आएको क्रियाशिल सदस्यता यस पटक अलि व्यवस्थित हुने अनुमान गरिएको छ । सदस्यता लिन चाहाने कार्यकर्ताले सदस्यता शुल्क तिर्न थालेका र पार्टीलाई सहयोग गर्ने प्रतिबद्ध युवाह कांग्रेसको सिद्धान्त प्रति आकर्षीत हुदै गएको नेताहरुले बताएका छन् । कांग्रेसले क्रियाशिल सदस्यता अध्यावधिक अभियानसंगै पार्टी प्रंवेशको अभियानलाई लाई निरन्तरता दिदै आएको संविधानसभा सदस्य एवं कांग्रेस नेता रामहरी खतिवडाले बताउनु भयो । आउदो भदौ मसान्त भित्रमा जिल्ला समितिले क्रियाशिल सदस्यता अध्यावधिक गरी केन्द्रीय समितिमा पठाइसक्नु पर्ने कार्यादेश रहेको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।










