कार्यकाल सकिन १० दिनमात्र बाँकी रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने तयारी भइरहेको छ। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले तत्काल राजीनामा नदिए ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएकी छन्।
गत साता आफ्ना समर्थकहरूलाई संसद भवनमा हिंसा फैलाउन उक्साएका ट्रम्पलाई महाअभियोग लगाउन डेमोक्र्याटिकमात्र होइन रिपब्लिकन पार्टीकै नेताहरूले पनि माग गरेका छन्। राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणीकरण गर्न दुबै सदनको बैठक बसिरहेका बेला गत बुधबार ट्रम्प समर्थकले संसद भवनमा पसेर तोडफोड गरेका थिए।
उक्त हिंसामा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। उक्त घटनापछि ट्रम्पको रिपब्लिकन पार्टीकै नेताहरू पनि उनको विपक्षमा उभिएका छन् ।










