ट्रम्पमाथी महाभियोगको सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान



अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ।

सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए।

यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ।

सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेका थिए।

सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो।

गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई ूउक्साएकोू उनीमाथि आरोप छ।

ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आएका छन्।

उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद्‌ भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो।

अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन्।

त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन्।

प्रकाशित मिति : माघ २८, २०७७ बुधबार  ६ : ४८ बजे