शेरधनले गरे मन्त्रिमण्डल विस्तार,को को थपिए मन्त्री र राज्यमन्त्री ?



प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले तेस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गर्दै छ जना मन्त्री थप गरेका छन ।भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ सोही मन्त्रालयको ‘फुल मन्त्री’ बनेका छन् ।त्यसै गरी पहिल्यै मन्त्रीको शपथ लिने तयारी भएर पनि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा सीमित बनेका राम राना शुक्रवार सोही मन्त्रालयको ‘फुल मन्त्री’ बनेका छन् ।

यता माओवादी छाडेका टङ्क आङ्बुहाङले आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा शपथ लिए । खोटाङकी प्रदेश सांसद उषाकला राई सामाजिक विकास मन्त्री भएकी छन् ।उदयपुरकी सांसद कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा शपथ लिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शपथका लागि तयारी गर्न भनेपछि प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ ।

शपथपछि प्रदेश १ सरकारको ६ वटै मन्त्रालयले ‘फुल मन्त्री’ पाएको छ । शपथपछि प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय भएको छ ।सर्वोच्च अदालतको फैसलाले दल अलग भएपछि मुख्यमन्त्री शेरधन राई आफ्नो दल नेकपा एमालेभित्र बलियो बनेका हुन् ।उनले आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन लिखित निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  ८ : १२ बजे