जिल्ला प्रवेशद्धारमा हुनसक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण प्रयोजनकालागि मानेभञ्ज्याङ गाउपालिका–७ हर्कपुरमा सीसीटिभी जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउपालिकाको साझेदारीमा सीसीटिभी जडान गरिएको हो ।
समुदाय –प्रहरी सांझेदारी कार्यक्रम अन्र्तगत समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धान लाई सहजता तुल्याउन सीसीटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द राज काफ्लेले बताउनुभयो । आवश्यक विद्युत जडान, फर्निचर लगायत भौतिक संरचना व्यवस्थापन तथा सीसीटिभी जडान सहयोगका लागि गाउपालिकाले ४ लाख ९९ हजार रकम उपलब्ध गराएको काफ्नेले जानकारी दिनुभयो ।
ओखलढुंगा, खोटाङ, सोलुखुम्बु जिल्लाको प्रवेशद्धार हर्कपुर नाकामा हुन सक्ने आपराधिक घटना न्यूनिकरण तथा घटनाको अनुसन्धान लाई सहज र सरल बनाउने उद्देश्यका साथ सीसीटिभी जडान गरेसंगै सुरक्षा चुनौति घट्ने अपेक्षा गरिएको छ । हर्कपुर प्रवेश नाकाको सुनकोशी पुलको मुखमा विच सडक, हर्कपुर गेटमा गरी ४ वटा सीसीटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सरकारको नितिअनुसार आपराध अनुसन्धानलाई प्रविधियुक्त बनाउदै लौजाने कामको थालनी भएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभयो । सीसी टिभी जडानले यस क्षेत्रको शान्ति सु–व्यवस्थालाई मजबुद बनाउने भएकाले असल कार्यको थालनी गर्ने जिल्ला प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउपालिकालाई राइले धन्यवाद दिनुभयो ।
सीसी टिभी जडान तथा हस्तान्तरण कार्यक्रममा मानेभञ्ज्याङ गाउपालिका प्रमुख मोतिराज राइले समाजमा शान्ति कायम गर्न र अपराधिक घटना न्यूनिकरणका लागि प्रहरी मात्र नभई सबै नागरिको उत्तिकै भूमिका हुने भएको भन्दै सीसी टिभी जडानका लागि गाउसभाबाट पारित गरेर उक्त रकम विनियोज गरेको बताउनुभयो । सीसीटिभी जडान भएपछि यस भेगका सम्पूर्ण गतिविधिहरु क्यामेरामा कैद हुने भएकाले अबाञ्चछीत गतिविधि घट्ने गाउपालिका प्रमुख राइले अपेक्षा गर्नुभएको छ ।
सीसी टिभीमार्फत हर्कपुर क्षेत्रका सबै गतिविधिहरु इलाका प्रहरी कार्यालय हर्कपुर र जिल्ला प्रहरी कार्यालयले नियमित निगरानी गर्ने र त्यस्ता अबान्छीत गतिविधि भएको पाइएका प्रविधिको प्रयोगले तत्काल कारवाही गर्न सजिलो हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रनाउ गोविन्द राज काफ्लेले बताउनुभयो ।










