भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।“छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उहाँले जानकारी दिनुभयो ।
छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताउनुभयो ।उहाँले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो ।










