माओवादीले कारबाही गरेका मेयरहरूलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश



तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भइ हाल नेकपा (एमालेमा रहेका दुई मेयरलाई तत्कालका लागि काममा रोक नलगाउन सर्बोच्चले अन्तरिम आदेश दिएको छ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चलेअन्तरिम आदेश दिएको हो। साह र कुशवाहाको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो ।

आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

गत वैशाख १३ गते बसेको माओवादीको केन्द्रीय समितिको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुन अनुसार पदमुक्त भएको निर्णय गरेको थियो ।

प्रकाशित मिति : असार १५, २०७८ मंगलबार  ६ : ३१ बजे