जसपा ठाकुर पक्षको बैठक बस्दै, के सरकारमा सहभागी होला ?



जसपा महन्थ ठाकुर पक्षको संसदीय दलको बैठक बस्ने भएको छ । वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।

प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको प्रति ठाकुर पक्षको कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । जसपा ठाकुर पक्षका कार्यकारिणी सदस्य अनिलकुमार झाले सर्वोच्चको आदेशको बारेमा जसपाको बैठक बसेर धारणा बनाउने बताए ।

उपेन्द्र यादव पक्षले देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोमा उत्साहित भएपनि प्रतिनिधिसभामा जसपा महन्थ ठाकुर पक्षको बहुमत छ । ३२ जना सांसदमध्ये २० जना महन्थ ठाकुरको पक्षमा छन् । बहुमत सांसदको हस्ताक्षरबाट राजेन्द्र महतो संसदीय दलको नेता बनेका छन्

साउन ३ गतेदेखि निर्वाचन आयोगमा पार्टीको विवाद बारे बहस सुरु हुनेछ । त्यसअघि अर्थात २ गतेका लागि कार्यकारिणी र आजको लागि संसदीय दलको बैठक बोलाइएको हो ।

अध्यक्ष ठाकुरले हेरफेर गरि कायम गरिएको कार्यकारिणी समितिको बैठक बोलाइएको हो । कार्यकारिणी समितिबाट अध्यक्ष उपेन्द्र यादव पक्षका सदस्यलाई हटाएर ठाकुरले आफ्नो तर्फबाट २० जना राखेका छन् ।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  ११ : १० बजे