नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही गर्ने बताएका छन् । सोमबार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगरे एमाले पार्टी अब पार्टी नै नरहने बताएका हुन् ।
ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनकै गद्दार भएकाले एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका हुन् ।
‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, एमालेमा उनलाई ठाउँ छैन’, सम्बोधनका क्रममा नेपालप्रति आक्रोशित ओलीले भने, ‘कोही साथीहरु गल्ती स्वीकार गरेर, सच्चिएर आउनुहुन्छ भने स्वागत छ, तर माधव नेपाललाई त्यो ठाउँ छैन।’
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने बेलामा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए। २२ जनामा धेरैजसो नेपालपक्षका थिए भने केही ओलीपक्षकै सांसद थिए। आइतबारको घटनालाई ओलीले ‘चरम अनैतिक’ भएको टिप्पणी गरे।








