महन्थ ठाकुर बालुवाटारमा



जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ठाकुर वालुवाटार पुगेका हुन ।

आफ्ना सांसदहरुले छाड्ने संकेत पाएपछि अप्रत्यासित रुपमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका महन्थले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग भएका सहमतिलाई अगाडि बढाउन आग्रह गरेका छन्।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको साथसहित देउवा प्रधानमन्त्री बनेपछि महन्थ-राजेन्द्र महतो कमजोर बन्न पुगेपछि ओलीको साथ छाडेर देउवातिर लागेका हुन् ।

हिजोमात्रै जनता समाजवादी पार्टीको बैठकले केपी शर्मा ओलीको सरकारले आफ्ना माग केही हदसम्म सम्बोधन गरेको भन्दै धन्यवाद ज्ञापन गरेको भोलिपल्ट आज महन्थ बालुवाटार पुगेका हुन्।

महन्थलाई पनि आफ्ना सांसद जोगाउन देउवालाई गुहार्नुपर्ने अवस्था आएकाले संविधान संशोधन, नागरिकता विधेयक, जेलमा रहेका नेता कार्यकर्ताको रिहाईको मागसँगै सरकारमा सहभागिता जनाउनसक्ने सम्भावना समेत देखिएकाले महन्थ ठाकुरको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि ओलीको सरकारमा ११ मन्त्री सहित ठाकुर-महतोको सहभागिता भए पनि त्यो दुई साता पनि टिक्न सकेन। सर्वोच्च अदालतले मन्त्रिपरिषद फेरबदललाई गैर संवैधानिक भन्दै उनीहरुको पद खारेज गरिदिएको थियो।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  १० : ०५ बजे