गाउँका जनता, गरिब र किसानकाे प्रगतिमा बिपीको विशेष जाेड थियो : महामन्त्री डा.कोइराला



कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसका संस्थापक नेता वीपीले राजनितिमा नैतिकतालाई सधै उच्च स्थानमा राखिनुपर्नेमा जाेड दिनेगरेको बताएका छन ।विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमा श्रद्दान्जली ब्यक्त गर्दै वीपी कोइरालाका सुपुत्र समेत रहेका महामन्त्री कोइरालाले गाउँका जनता, गरिब र किसानकाे प्रगतिमा बिपी कोइरालाको विशेष जाेड रहेको स्मरण गराएका छन ।

महामन्त्री कोइरालाले बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र संङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी रहेको समेत उल्लेख गरेका छन । उनले सरकार सञ्चालनकाे छाेटाे अवधीमै बिपिले केही ऐतिहासिक याेगदान गर्न सफल भएको पनि उल्लेख गरेका छन ।

कोइरालाले संविधान र लाेकतन्त्र रक्षार्थ नेपाली कांग्रेसको नेतृत्वमा पुनः सरकार बनेकाे भन्दै यतिबेला कांग्रेस नेतृत्वको सरकारले जनताकाे जीवन रक्षा, विधिको शासन र समृद्धिकाे सुनिश्चितताका लागि काम गर्नुपर्ने बताएका छन । महामन्त्री कोइरालाले वीपी स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै वीपीकाे बाटाेमा हिड्न र नेपाली जनताकाे सेवामा आफूलाई समर्पित गर्न सबैलाई प्रेरणा मिलाेस् भन्ने कामना समेत गरेका छन ।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  १० : ५३ बजे