ठाकुरको निवेदनको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा



जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले दिएको पेसी न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । ठाकुरले निर्वाचन आयोगले आधिकारिकता दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज सुनुवाइ तोकिएको हो ।

जसपा आधिकारिकता विवाद सुल्झाउन निर्वाचन आयोगको इजलासमा सुनुवाइ जारी रहेको छ। आयोगको इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितीका सदस्यलाई नागरिकतासहित ११ साउनमा बोलाएको छ। आयोगले सनाखतका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएको हो।

आयोगले केन्द्रीय सदस्यलाई बोलाएपछि अध्यक्ष ठाकुर ८ साउनमा सर्वोच्च पुगेका हुन्। उनले आयोगको आधिकारिकता दिने प्रक्रिया तत्काल रोक्न आदेशमा माग गरेका छन्।

निर्वाचन आयोगलाई विपक्षी बनाएर ठाकुरले दिएको निवेदनमा भनेका छन्, “उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८/३/४ को दाबी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ (१) को प्रतिकूल रहेकाले सो गैरकानूनी दाबीको आधारमा कुनै निर्णय, कामकारबाही नगर्न नगराउनु भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाउँ।”

अध्यक्ष ठाकुरको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको हो।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  ११ : ०९ बजे