जसपाको सांसद तथा कार्यकारिणी समिति सदस्य रेणु यादवले अब महन्थ ठाकुरलाई पार्टीमा कुनै स्थान नरहेको बताएकी छन् ।
सोमबार आयोग परिसरमा उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गरेकी उनले आफूहरूको पक्षमा बहुमत देखिएकाले अब महन्थ ठाकुरको पार्टीमा कुनै स्थान नरहेको बताइन् ।
‘अब महन्थ ठाकुर जसपामा हुनुहुन्न, उहाँलाई अध्यक्ष मान्ने कुरै आउँदैन’, यादवले भनिन्, ‘आत्मालोचना गरेर पार्टीभित्र आउन चाहनु हुन्छ भने पनि अब ठाउँ छैन ।’
यता जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आफूहरूले आयोगको निर्णयअनुसार निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएको तर त्यसमा आफूहरूको विमति रहेकाले सर्वोच्चमा मुद्दा दिएको बताए ।
सर्वोच्चले आइतबार दुवै पक्षलाई साउन १५ गतेको लागि छलफलमा बोलाएकाले त्यसपछि मात्रै एउटा निष्कर्ष निस्कने उनको भनाइ छ । ‘हामीले आज सनाखत गर्यौँ । भोलि कसको पक्षमा रिजल्ट आउँछ त्यो पछिको कुरा हो’, उनले भने, ‘अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ । त्यसको छलफलबाट के निष्कर्ष निस्कन्छ, त्यही हुने हो अहिले कोही उत्साहित हुन जरुरी छैन ।’








