महन्थ ठाकुरबारे उपेन्द्र यादवले गरे यस्तो खुलासा, अब के गर्लान ठाकुर



जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरुले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतलाई पार्टीबाट हटाउन नचाहेको बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यादवले उनिहरुलाई घोक्र्याएर हटाउन नचाहेको बताएका हुन् ।

विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो ।

‘आयोगमा हाम्रो पक्षमा अत्याधिक बहुमत देखिएको छ । हामीले महन्थ जी राजेन्द्रजीहरुलाई घोक्र्याएर हटाउन खोजेको होइन’, यादवले भने, ‘उहाँहरु आफै बाटो बिराएर हिँड्नु भएको छ । हामीले खेदेको होइन । बिराएको बाटो र लिएका गलत नीतिलाई सच्याएर सार्वजनिक रुपमा आत्मालोचना गर्नुभयो भने पार्टीले विचार गर्छ ।’

उनले ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिएको भन्दै त्यो पार्टीको नीति तथा सिद्धान्तविपरित भएको पनि बताए । यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने पनि बताए ।

यता जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आफूहरूले आयोगको निर्णयअनुसार निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएको तर त्यसमा आफूहरूको विमति रहेकाले सर्वोच्चमा मुद्दा दिएको बताए ।

सर्वोच्चले आइतबार दुवै पक्षलाई साउन १५ गतेको लागि छलफलमा बोलाएकाले त्यसपछि मात्रै एउटा निष्कर्ष निस्कने उनको भनाइ छ । ‘हामीले आज सनाखत गर्यौँ । भोलि कसको पक्षमा रिजल्ट आउँछ त्यो पछिको कुरा हो’, उनले भने, ‘अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ । त्यसको छलफलबाट के निष्कर्ष निस्कन्छ, त्यही हुने हो अहिले कोही उत्साहित हुन जरुरी छैन ।’

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  १२ : ४७ बजे