प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।
आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले गण्डकीका सीताकुमारी पौडेल, लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावद र प्रदेश २ का राजेश झालाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी गरेको हो।
केपी ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाएर उनीहरुको ठाउँमा कसलाई नियुक्ती गरिँदैछ भन्ने खुलेको छैन।
यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अब छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन्।
आधिकारिकताको विवाद टुंगिएसँगै नेता यादवले सोमबार यस्तो प्रतिक्रिया दिएका हुन् । निर्वाचन आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गराएसँगै जसपाको विवाद लगभग टुंगिएको छ ।
सोमबार आयोगमा पुगेका संचारकर्मीहरुसँग नेता यादवले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्ने बताएका थिए ।
निर्वाचन आयोगमा उपस्थित भएका ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरेका थिए । यससँगै जसपामा ठाकुर पक्ष कमजोर देखिएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन दिएका ठाकुर पक्षका कतिपय नेताहरु समेत यसबीचमा यादव समूहमा उभिएका छन् । यादव समूहले भने ओली सरकारलाई विश्वासको मत दिएको थिएन ।








