परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको पनि हो : गगन थापा



नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरू भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विधि र विज्ञान नमान्ने अघिल्लो सरकारलाई बालुवाटारबाट बार्दली पर्याएको समेत बताएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर निजी निवास बालकोट पुगेको दिन बार्दलीबाट भाषण गरेका थिए। थापाले त्यसैतर्फ संकेत गर्दै उनले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताए।

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने तर आसेपासे पोस्ने। बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार,’ थापाले भने।

नयाँ सरकारलाई कुनै पनि अपराध गर्ने छुट नरहेकाले यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने उनले बताए। ‘यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनुपर्नेछ,’ उनले भने, ‘परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको र सांसदको पनि छ।’

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  २ : ५४ बजे