म माओवादी केन्द्रमै छु, एमाले प्रवेश गरेको छैन : नेता रायमाझी



नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले आफु माओवादी केन्द्रमै रहेको बताएका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।

नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।

सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ‘ख’ मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।

​त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।

स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए । ती नेताहरूले माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अभिव्यक्तिसमेत दिएका थिए ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  २ : ५८ बजे