पुनर्बहाली माग गरेका पूर्व माओवादी केन्द्रका नेताको मुद्दा न्यायाधीश कार्कीको बेञ्चमा



सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ।

बुधबार नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएपछि पुनर्वहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि आज सुनुवाइ हुँदैछ।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए।

गत चैत २४ गते माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

भट्ट कैलाली क्षेत्र नम्बर-४, रायमाझी अर्घाखाँची, साह रौतहट-३ र चौधरी कैलाली-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहिबार  ११ : १५ बजे