जिल्ला प्रहरी कार्यालयको धनुषा हिरासतमा रहेका थुनुवा पल्टु रबिदासले झुण्डिएर आत्महत्या नगरेको भन्दै पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैन ।
शुक्रबार बिहान हिरासतको शौचालयमा लक्ष्मीनियाँ गाउँपालिका-२ का थुनुवा ४० वर्षीय रबिदासले आत्महत्या गरेका थिए । तीन दिनदेखि उनको शव प्रादेशिक अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ ।
मृतकका परिवार, आफन्त र दलित अगुवा आन्दोलन गर्दै पूर्वमन्त्री एवं एमाले नेता रघुवीर महासेठको समेत पुत्ला जलाएका छन् । पीडित परिवारले शव बुझ्न मानेका छैन ।
उनीहरुले शनिबार साँझ जनकपुर-ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियाँ चोकमा चक्का जाम गर्दै चार जनाको पुत्ला जलाइयो । जसमध्ये एक हुन्- पूर्वमन्त्री महासेठ । उनको पुत्लामा लेखिएको थियो, ‘घरायसी झगडामा मुद्दा दिलाउन माहिर दलालोका बाप रघुवीर महासेठ ।’
मृतक रबिदासको घर रहेकै धनुषा क्षेत्र नम्बर- ४ बाट निर्वाचित संघीय सांसद हुन् महासेठ । महासेठबाहेक लालजी साह, राजकिशोर रबिदास र शम्भु यादवको पनि पुत्ला जलाइयो । तीनै जनालाई स्थानीयले दलालको संज्ञा दिएका छन् ।
०७७ चैत ११ मा पल्टु (मृतक) र भाइ अग्नुबीच लफडा भएको थियो । उनीहरुबीच आपसमा सामान्य कुटाकुट भएको थियो । स्थानीयले झगडा छुटाए । तर झगडामा अग्नुको टाउको फुट्यो । स्थानीयका अनुसार प्रहरीमै मुद्दा दर्ता गराउने खालको घटना नै थिएन । तर मिलापत्र गराउनुको साटो अग्नुलाई उक्साएर ‘दलालहरु’ले प्रहरीमा मुद्दा दर्ता गर्न लगाए ।
कुटपिट तथा अंगभंग मुद्दा दर्ता भए पनि करिब ३ महिनासम्म पल्टु पक्राउ परेका थिएनन् । उनलाई प्रहरीले अदालतमा पेश गर्दा २ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।
तर २ लाख धरौटी बुझाउने क्षमता पल्टुसँग थिएन, बुझाएनन् । प्रहरीले उनलाई सिन्धुली कारागार पठाउने तयारी गरेको थियो । तर उनी आफूले लगाएको गन्जीलाई पासो बनाएर हिरासत कक्षकै शौचालयमा झुण्डिए । उनले आत्महत्या गर्नुको कारण गरिबी पनि रहेको प्रहरी अधिकारी बताउँछन् ।








